इनरुवा, कार्तिक २६ - सुनसरीको झुम्कास्थित पूञ्र्वाञ्चल क्षेत्रीय कारागारबाट बिहीबार राति सुरुङ खनेर १२ कैदी फरार भएको घटनामा प्रहरीको प्रत्यक्ष संलग्नता देखिएको छ । सुरुङ खन्नेदेखि कैदी भगाउनेसम्मको योजनामा कारागार सुरक्षार्थ रहेका प्रहरी अधिकारीको प्रत्यक्ष संलग्नता देखिएको हो ।
संलग्न देखिएका प्रहरी अधिकारी आफैं रकमको प्रलोभनमा परी त्यस्तो गरेको हो वा माथिल्लो निकायको मिलेमतोमा भन्ने खुल्न सकेको छैन । कारागारभित्रै ३० मिटर लामो सुरुङ खनी गत बिहीबार राति अन्तर्राष्ट्रिय अपराधी बंगलादेशी नागरिक अली असरफ भनिने सुब्रत वेन, भारतीय कुख्यात अपराधी मुखियाजी भनिने धिरेन्द्र यादव र गुड्डु भनिने बमबम यादबलगायतका १२ कैदी भागेका थिए ।
'घटनामा प्रहरी संलग्नता नकार्न सकिने अवस्था छैन,' सुनसरीका प्रहरी प्रमुख सौरभ राणाले भने, 'तर कसकसको संलग्नता भन्नेबारे अनुसन्धान हँुदैछ ।' स्रोतअनुसार स्थानीय तहमा कारागार सुरक्षार्थ रहेको नेपाल प्रहरीको टोलीमा रहेका प्रहरी नायब निरीक्षक -सइ) जितबहादुर केसीको उक्त घटनामा प्रमुख हात छ ।
केसीसँगैको मिलेमतोमा कैदीले कारागारभित्र सुरुङ खन्ने योजना बनाएका थिए । सइ केसीको दरबन्दी सुनसरीकै महेन्द्रनगरस्थित इलाका प्रहरी कार्यालयमा भए पनि उनी ०६७ को अन्ततिर कारागार पठाइएका थिए । ललितपुरको नख्खु कारागारबाट धिरेन्द्रलाई झुम्का पठाएको केही दिनअघि मात्र सइ केसी त्यहाँ पठाइएका थिए ।
नख्खु कारागारबाट धिरेन्द्रलाई ०६८ साल कात्तिक २९ गने झुम्का सारिएको थियो । ०६७ साल वैशाख २२ गते रामेछापको टोक्लापुर इलाका प्रहरी कार्यालयबाट सुनसरीको महेन्द्रनगर आएका सइ केसीले केही दिन महेन्द्रनगर र केही दिन सुनसरीको चतरा बसेपछि उनलाई झुम्का कारागार पठाएको जिल्ला प्रहरीका एक अधिकारीले बताए । अन्तर्राष्ट्रिय अपराधी सुब्रत वेनकी श्रीमती इटहरीमा डेरा लिएर बस्ने र सइ केसी उनको डेरा जाने-आउने गरेको स्रोतले बतायो ।
सइ केसीमार्फत भित्रको कुरा सुब्रतकी श्रीमतीसम्म पुग्ने अनि उसले बाहिरी कुरा मिलाउने काम गर्दै आएको स्रोतको दाबी छ । सुब्रतकी श्रीमती बुधबार साँझबाटै डेरा छाडेर भागिसकेकी छन् । जिल्ला प्रहरीका एक प्रहरी अधिकारीले भने धिरेन्द्रलाई नख्खुबाट झुम्का सार्ने, धिरेन्द्रका सहयोगी मानिने बमबमलाई राजविराजबाट झुम्का ल्याउने र सइक केसीलाई कारागार सुरक्षार्थ ल्याउने समयदेखि नै कैदी भगाउने योजना थियो । सइ केसीकै निर्देशनमा बुर्जाघरमा ड्युटीमा रहेका प्रहरीले बिहीबार राति उज्यालो पारी निगरानी नगरेको प्रहरी स्रोतले बतायो । 'बत्ती बालेर निगरानी गर्नुपर्ने कार्य सो राति गरिएको देखिएन,' एसपी राणाले भने, 'किन वा कसको निर्देशनमा बत्ती बालिएन त्यसबारे अनुसन्धानपछि मात्र भन्न सकिने छ ।' धिरेन्द्र र बमबम झुम्का कारागारमा ल्याइएपछि सुब्रतसित जेलबाट भाग्ने योजना बनाएका थिए । योजनाको पहिलो चरणमा उनीहरूले कारागारभित्र माछा पोखरी खन्न सुरु गरेका थिए । सुरुमा सुब्रतलाई कारागारका चौकीदार बनाएर कैदीलाई विश्वासमा लिने र त्यसपछि कारागारभित्र पोखरी चाहिन्छ भन्ने कैदीबाट माग गर्न लगाएर सुरुङ खन्ने योजनाको सुरुवात गरेको देखिएको एसपी राणाले बताए ।
पोखरी खनिसकेपछि सुरुङ खन्न सुरु गरेको र सुरुङ खन्दा आएको माटोलाई त्यही पोखरी र तरकारी बारीमा व्यवस्थापन गरेको हुन सक्ने एसपी राणाले बताए । भाग्ने योजना बनाएकै कारण कारागारभित्र सुब्रत र धिरेन्द्रले कैदीबीच झगडा हुन नदिने, उनीहरूले खाएको पैसा तिरिदिनेलगायत कार्य गर्दै आएको एसपी राणाको भनाइ छ ।
कैदीलाई मिलाएकै कारण सुब्रतलाई चौकीदारबाट हटाउन कुनै आवाज नउठेको उनले बताए । झुम्का कारागारमा विगतमा कैदीबीच झगडा, मारपिटलगायत घटना हँुदै आए पनि धिरेन्द्र आएको र सुब्रत चौकीदार भएपछि यो घटना रोकिएको थियो ।
कैदी खोज्न प्रहरी सक्रिय
झुम्का कारागारबाट सुरुङ खनेर १२ जना कैदी भागेपछि सुनसरी प्रहरीले अहिले सीमा क्षेत्रसहित उनीहरू जान सक्ने वा सूचना प्राप्त हुन सक्ने स्थानमा प्रहरी सक्रियता बढाएको छ । जिल्लाका विभिन्न सरकारी कार्यालयको गाडी अहिले प्रहरी कार्यालयमा झिकाइएको छ । अनुसन्धान र अपराधी पक्राउ गर्न सक्ने प्रहरी अधिकारी अहिले सुनसरी तानिएका छन् ।
सप्तरीको इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक राजेन्द्र बस्नेत, क्षेत्रीय प्रहरी कार्यालयका ब्युरोमा रहेका प्रहरी निरीक्षक दुर्गा दाहाल, राजविराजस्थित नगर प्रहरीका इन्चार्ज सइ घनश्याम मण्डल लगायतकालाई अहिले सुनसरी बोलाइएको छ । सइ मण्डल भारतीय अपराधी धिरेन्द्रलाई पक्राउ गर्ने प्रहरी टोलीमध्येका एक हुन् । प्रहरीले सीमावर्ती प्रहरीसँग सवन्मय गरी खोजी कार्य तीव्र बनाएको जनाएको छ । भागेका कैदी भेट्न जाने, उनीहरूबारे सम्भावित सूचना राख्नेहरूलाई पनि प्रहरीले सोधपुछ गर्ने कार्य जारी राखेको छ ।
सुरक्षा कमजोरीः छानबिन टोली
सुरुङ खनेर १२ कैदी भागेको घटनामा सुरक्षा कमजोरी भएको छानबिन टोलीले बताएको छ । घटनापछि गृह मन्त्रालयले गठन गरेको छानबिन टोलीले प्रारम्भिक चरणको अनुसन्धानबाट सुरक्षा कमजोरीको फाइदा उठाउँदै कैदी भागेको निष्कर्षमा पुगेको टोली संयोजक कारागार व्यवस्थापन विभागका महानिर्देशक शम्भु कोइरालाले बताए ।
'प्रारम्भिक चरणका जिल्लास्थित सुरक्षा समिति अधिकारी र घटनास्थलको अनुगमन गर्दा सुरक्षा कमजोरीकै कारण घटना भएको देख्यौं,' टोली संयोजक कोइरालाले भने । घटनाबारे कोइरालाको संयोजकत्वमा गठन गरेको तीन सदस्यीय टोली शनिबार अपराह्न सुनसरी पुगेपछि सुरक्षा निकायका अधिकारीसित छलफल र संलग्न भनिएका प्रहरीसित बयान लिने काम गरेको छ ।
टोलीमा डीआईजी गोपाल भण्डारी र गृह मन्त्रालयका उपसचिव सागरमणि पराजुली सदस्य छन् । संलग्न भनिएका प्रहरीसित अञ्चल प्रहरी कार्यालय धरानमा टोलीले प्रारम्भिक बयान लिएको छ । यसैबीच घटनाका बेला कारागार सुरक्षार्थ रहेका नेपाल प्रहरीका निरीक्षक ईश्वरकुमार बस्नेत र सइ जितबहादुर केसीसहित ४६ जनालाई अञ्चल प्रहरी कार्यालय धरानमा राखेर प्रहरीले शनिबार बयान लिएको छ ।
Post a Comment