सीएनएन हिरो पुष्पाले बिबाह नगर्ने ! 'मामु'को सम्बोधन नै पूर्ण

Monday, December 10, 2012 | comments


२५ मंसिर, काठमाडौं । सानो झोलुंगोमा तीनमहिने काखेनानी आफ्नै तालमा खेलिरहेकी छिन् । आफूलाई जन्म दिने आमाबाबु कहाँ छन्, उनलाई पत्तो छैन । तैपनि उनले आमाको न्यानो काखको अभाव भोग्नुपरेको छैन । अरु दाजुदिदीले जस्तै उनले पनि माया गर्ने आमा पाएकी छिन् ।
‘यसले दूध खाई त…….हे…. हे नानी…आहा कति राम्री…….’ अलिपर रहेका बच्चाहरुको हूलबाट आइपुगेकी सीएनएन हिरो पुष्पा बस्नेतले ती नानीलाई काखमा राखेर खेलाउन थाल्नुभयो । ‘लौ हेर्नुस् कति ज्ञानी छ यो नानी’ पुष्पाले हाँस्दै यसोभन्दा काखमा रहेकी ती अवोध बालिका पनि मुस्काइन् । झट्ट हेर्दा ती नानी पुष्पाकै गर्भबाट जन्मेकी छोरी जस्तै देखिन्छिन् । अझ जन्म दिने आमाले भन्दा पनि बढी माया, ममता र स्याहारसम्भार उहाँले दिनुभएको छ ।
‘मामु मामु हेर्नुस् न ड्राईभर फेरि माथि गयो’ अलिपर खेल्दै गरेकी बालिका आएर भनिन् । ‘ए ड्राइभर नचल बाबु, यता आउ’ पुष्पाले भन्न नभ्याउँदै केटो भूईंमा बस्यो र ज्ञानी भएर खेल्न थाल्यो । ‘भोलिपर्सि ड्राइभर बन्छु भन्छ, त्यसैले उसलाई हामी ड्राइभर भन्छौं’ पुष्पाले हाँस्दै भन्नुभयो ।
यस वर्षको सीएनएन हिरोको उपाधि जित्न सफल पुष्पा बस्नेतले स्थापना गर्नुभएको प्रारम्भिक बाल विकास केन्द्रको दृश्य हो यो । आफूहरुलाई यति धेरै माया गरेर पालनपोषण र शिक्षा-दीक्षा दिने पुष्पालाई सबै बालबालिको मामु भनेर सम्बोधन गर्छन् । ‘सबैले मामु भनेर सम्बोधन गर्छन्, सुन्दा साह्रै गर्वको अनुभूति हुन्छ’ पुष्पाले भन्नुभयो-’आमा भन्ने शब्द आफैंमा महत्वपूर्ण छ नि ।’
केन्द्रमा ३ महिनदेखि १७ वर्ष उमेरसम्मका ४० भन्दा बढी बालबालिका छन् । यी बालबालिकाका आमाबाबु जेलमा छन् । आमाबाबुसँगै जेलमा बसेका बालिकाबालिकालाई उद्दार गरेर शिक्षा-दीक्षा दिने महान काममा लागेबापत पुष्पाले यति ठूलो सम्मान पाउनुभएको छ ।
‘यिनै छोराछोरी’ नै सबैथोक
राजधानीको सम्पन्न परिवारमा जन्मेर पनि दुःख पाएका बालबालिकाको लागि काम गरेकी पुष्पालाई अब अरु केही चाहिएको छैन । उहाँ सँगैका साथीसँगी कोही बिदेशमा छन् । कोही घरजम गरेर बसिसके । ‘मलाई त यही आनन्द भैसक्यो, हेर्नुस् त यतिका धेरै छोराछोरी छन्’ हामीसितको कुराकानीमा फुरुँग हुँदै पुष्पाले भन्नुभयो । ‘यिनका त बाबुआमा छन्, भोलि पर्सि जान्छन् नि हैन र ?’ हाम्रो प्रश्नमा एकछिन पुष्पा भावुक हुनुभयो । उतिखेरै भन्नुभयो-’यिनीहरु गए, अरु फेरि मामु भन्दै आईहाल्छन् नि ।’ तर भनेजस्तो त्यो क्षण बेहोर्न त्यति सजिलो छैन भन्ने उहाँलाई लागेको छ । ‘मलाई अहिले मामु भन्नेहरु भोलि पक्कै छोडेर जान्छन् । त्योबेला म उनीहरुको वरपर नै पर्दिन । उनीहरु गएपछि फेरि सामान्य अवस्थामै र्फकन्छुहोला’ पुष्पाले त्यो दिन सम्झँदै भन्नुभयो ।
‘सधैं यसैगरी होला र ? आफ्नो पनि त जिन्दगी होला ? बिहे गर्नुपर्ला ?’ हाम्रो प्रश्नमा पुष्पाले भन्नुभयो-’किन गर्ने बिहे ? बिहे गर्नैर्पर्छ भन्ने छैन, लाइफ चलाउने हो । मेरो त चलिरहेको छ । यस्तो आनन्द र सुन्दर जीवन अरु छैन । बिहे गर्यो, छोराछोरी पायो, अनि छोराछोरी साथमा छैनन् भन्छन् कतिपय बा-आमा । हेर्नुस् त कति समस्या छ ।’
केन्द्रमा रहेका बालबालिकालाई राम्रो बनाउने योजना मात्रै रहेको पुष्पाले बताउनुभयो । राम्रो शिक्षादिक्षा पाएपछि भोलिपर्सि उनीहरुका बा-आमालाई जिम्मा लगाउने र अरु बालबालिकाको पनि यसैगरी पालनपोषण गर्ने उहाँको थप योजना छ ।
पुलिस बन्ने रे छोराछोरी
आमाबाबुसँगै जेलमा पर्दा धेरै बालबालिकाले प्रहरी देखेका छन् । त्यसैले पुष्पासँग रहेका अधिकाँश बालबालिकालाई प्रहरी नै बन्ने सपना छ । ‘जेलमा प्रहरी देखेकोले हुन सक्छ धेरै प्रहरी बन्ने भन्छन्’ पुष्पाले भन्नुभयो । कतिपयलाई ड्राइभर बन्ने चाहना पनि छ ।

Share this article :

Post a Comment

भिडियो खबर तथा जानकारी

पेट मिचिमिची हास्नुहोस !!

हेर्नुहोस नेपाली ओम सान्ति ओम कमेडी भिडियो

Om Shanti Om - Parody (Nepali)