वासिङ्टन, कार्तिक २५ - इराक तथा अफगानिस्तानमा सैनिक कमान्डरको रूपमा अन्तर्राष्ट्रिय रूपमा कडा नाम कमाएका अमेरिकी गुप्तचर संस्था सीआईएका प्रमुख डेविड पेट्रेयसले विवाहेत्तर सम्बन्ध राखेको भनी राजीनामा दिएका छन् ।
अमेरिकी राष्ट्रपति बाराक ओबामाको पुनः निर्वाचनको तीन दिनपछि पेट्रेयसको राजिनामाले वासिङ्टनलाई झस्काएको छ र उनले लिबियामा अमेरिकी महावाणिज्य दूतावासको सुरक्षा गर्न नसकेको भनी उनमाथि सुनुवाइ हुने भएको थियो ।
पेट्रेयसले सीआईएका कर्मचारीलाई पठाएको एक सन्देशमा विवाहको ३७ वर्षसम्मको सम्बन्धपछि पनि आफूले विवाहेत्तर सम्बन्ध कायम गरी निकै कमजोर निर्णय गरेको बताएका छन् । उनले यस्तो व्यवहार एक पति तथा सीआईए जस्ता संस्थाका प्रमुखका लागि अस्वीकार्य भएको उल्लेख गरेका छन् ।
एफबीआईले पेट्रेयसले उपयोग गरेको कम्प्युटरमा कसैले चलाएको छ कि छैन भनी अनुसन्धान गरिरहेको समयमा उक्त सम्बन्धका विषयमा जानकारी बाहिर आएको समाचार न्युयोर्क टाइम्स तथा अमेरिकी अन्य आमसञ्चारले दिएका थिए ।
एनबीसी न्युजले सङ्घीय अनुसन्धान केन्द्र (एफबीआई)ले पाउला ब्रोडवेलमाथि अनुसन्धान गरिरहेको समाचार प्रकाशित गरेको थियो । पाउलाले पेट्रेयसको ‘‘अल इन: द एडुकेसन अफ डेविड पेट्रेयस’’ नामक जीवनी प्रकाशित गरेकी थिइन । उनले गलत रूपमा गोप्य सूचना प्राप्त गरेको अनुमान गरिएको छ ।
एक अधिकारीले आफ्नो नाम नबताउने सर्तमा पेट्रेअसका प्रेमिका ब्रोडवेल भएको र उनी पूर्व सैनिक मेजर भएको जानकारी दिए भनी न्युयोर्क टाइम्सले समाचारमा उल्लेख गरेको थियो ।
लिबियाको बेनघाजीमा अवस्थित अमेरिकी महावाणिज्य दूतावासमा अमेरिकी राजदूत तथा तीन कर्मचारीको मृत्यु हुने गरी भएको आक्रमणका लागि पेट्रेयसमाथि सुनुवाइ हुनेभएको थियो ।
सीआईएका उपप्रमुख माइकल मोरेलले हालका लागि कार्यवाहक प्रमुखको रूपमा कार्यभार सम्हाल्नुभएको छ र यस सुनुवाइमा उनी उपस्थित हुनेछन् ।
राष्ट्रपति ओबामाले मोरेलको नेतृत्वलाई आपूmले पूर्णरूपमा विश्वास गरेको बताए । बिहीबार बिहानसम्म राष्ट्रपति ओबामालाई सीआईएका प्रमुखले राजिनामा दिने कुरा थाहा नभएको बताइन्छ ।
पेट्रअसले सोही दिन भेट गरेपछि राष्ट्रपति ओबामाले राजिनामा अस्वीकार गरेको न्युयोर्क टाइम्सले उल्लेख गरेको छ । पछि राष्ट्रपति ओबामाले ६० वर्षीय पेट्रअसलाई पदमा कायम रहन बाध्य नपार्ने निर्णय गर्नुभएको पनि यस पत्रिकाले उल्लेख गरेको छ ।
Post a Comment