कस्तो अचम्म १५ वर्ष ननाघेका छात्रा सिउँदोमा रातै सिन्दुर लगाएर स्कूलमा

Friday, November 9, 2012 | comments

उमेरले १५ वर्ष नाघेका कोही पनि छैनन्। हेर्दा सबै किशोरीनै हुन्। तर, सबैका हातमा चुरा, गलामा माला अर्थात पोते र सिउँदोमा रातै सिन्दुर। कपिलवस्तुको धनकौली गाविस-९ स्थित कपिलवस्तु राष्ट्रिय निमाविको कक्षा सातदेखि नौ सम्मका प्रायः सबै किशोरीलाई कक्षामा यस्तै पहिरन र रूपमा देख्न पाइन्छ। जिल्ला सदरमुकामदेखि पाँच किलोमिटर दुरीमा रहेको धनकौली गाविसको यो विद्यालयमा अध्ययन गर्न आउने कक्षा सातदेखि नौसम्मका छात्राहरू प्रायः सबैको विवाह भइसकेको छ। विवाह कम उमेरमा भएपनि वयस्क नहुँदासम्म माइतीमै बस्नुपर्ने परम्परा सो समुदायमा रहेको छ। उमेर पुगेपछि विवाह जस्तै गवाना गरेर घर पठाउने संस्कार हुन्छ। गवानाअघि आफ्नो लोग्नेलाई भेट्नुलाई सो समुदायमा परम्परा विपरीत मानिन्छ। विवाहपछि पनि गवाना नभएकाले उनीहरू माइतीमै बस्न पाएका हुन्।

यसैले विवाहित ती किशोरीलाई वैवाहिक पहिरन र रूपमा विद्यालय आउनु नियमित जस्तो भएको छ। तराइका जिल्लामा बसोवास गर्ने यादव, केवट, माझी, सहानी, मल्लाहा, पथ्थरकट्टा, नटुवा, चमार र मुसहरलगायतका जातीमा बाल विवाह गर्ने परम्परा छ। उक्त गाउँमा रहेका करिब २०० घर परिवारमध्ये अधिकांश यादव र केवट समुदाय रहेका छन्। सो समुदायका प्रायः सबैका छोरीहरूको सानैमा विवाह भइसकेको छ। विवाह पश्चात पनि गवाना नभएकाले उनीहरू माइतिमै बस्दै आएका छन्। उक्त विद्यालयकी छात्रा किशोरी इन्द्रावती यादवको आज भन्दा छ वर्षअघि सदरमुकाम तौलिहवामा विवाह भएको हो। उनलाई आफ्नो कसरी विवाह भयो भन्ने पनि राम्रोसँग सम्झना छैन। इन्दावती अहिले १४ वर्षकी भइन्। उनी सो विद्यालयको कक्षा ९ मा अध्ययन गर्ने जेहेन्दार विद्यार्थी हुन्। उनले पढेर नर्स बन्ने चाहना भएको सुनाइन्। उनले लजाउँदै भनिन्, विवाह भएको खासै सम्झना छैन, पतिले ११ कक्षामा पढ्छन् भन्ने सुनेकी छु, देखेकी छैन। इन्द्रावतीकी बहिनी पूँजाको पनि चार वर्षअघि विवाह भइसक्यो। गवाना बाँकी रहेकाले उनी पनि माइतिमै बस्दै आएकी छन्। सो विद्यालयको कक्षा सातमा अध्ययन गर्ने पूँजाको विवाह जिल्ला सदरमुकाम नजिकै डुमरा गाविसमा भएको हो। उनका पति पनि स्थानीय एक बोर्डिङ स्कुलमा पढ्दै गरेको आफूले सुनेको उनले बताइन्।

सो विद्यालयमा अध्ययन गर्ने कक्षा सातदेखि नौसम्मका झन्डै ३० प्रतिशत छात्रा विवाहित रहेको विद्यालयका प्राधानाध्यापक परशुराम यादव बताउँछन्। तिनै किशोरीहरूको दबाबले गाउँमा रहेको उक्त विद्यालयले यस वर्ष कक्षा नौ सञ्चालन गर्न बाध्य भयो। विवाहित त्यस्ता किशोरीको सङ्ख्या धेरै भएपछि उनीहरूको दबाबमा विद्यालयको आर्थिक, भौतिक र प्रयाप्त जनशक्तिको अभावमा पनि यस वर्ष कक्षा नौ सञ्चालन गरेको छ। सो कक्षामा ३४ जना विद्यार्थी रहेको विद्यालयले जनाएको छ। विद्यालयका प्रधानाध्यापक यादव पनि बालविवाहका एक प्रतिनिधि हुन्। कक्षा छ मा पढ्दै गर्दा वैवाहिक बन्धनमा बाँधिएका प्रधानाध्यापक यादवको विवाह हुँदा उमेर ११ वर्ष थियो। उनले भने, मेरो विवाह पनि बाल्य अवस्थामै भयो, गवाना भने एसएलसी पासपछि मात्र भएको हो। तराईका जिल्लामा बाल विवाह गर्ने परम्परालाई सस्कारको रूपमा लिइन्छ। छोरीको विवाह रजस्वला नहुँदै गर्दा पुन्य प्राप्त हुने धार्मिक विश्वास त्यहाँका समुदायमा रहिआएको छ। तराईका जिल्लामा बाल विवाह कायम रहनुको कारण गरिवी, जनचेतनाको अभाव रहेको विद्यालयका प्रधानाध्यापक यादवको ठहर छ। छोरी बढे भने दाइजो धेरै दिनुपर्ने बाध्यताका कारण पनि सानै उमेरमा विवाह गर्ने चलन रहेको बताउँदै उनले भने- भेँडा, बाख्रा जस्तै किनबेच हुन्छ, विवाह दाइजोकै लागि गरिन्छ जस्तो पो लाग्छ। उनले आफ्नो परिवारमा दाजु-भाइसमेतका सात वटी छोरी रहेको बताए। परिवारमा छोरीको विवाहका लागि निक्कै दबाब आएको बताउँदै आफ्नै अडानका कारण रोकिएको बताए। रासस
Share this article :

Post a Comment

भिडियो खबर तथा जानकारी

पेट मिचिमिची हास्नुहोस !!

हेर्नुहोस नेपाली ओम सान्ति ओम कमेडी भिडियो

Om Shanti Om - Parody (Nepali)